एनएनएसडब्लु प्रणालीमार्फत टीआईभी घोषणा गर्न सकिने
वि.सं.२०८३ वैशाख २५ शुक्रवार १०:३८
shares

काठमाडौं, २५ वैशाख । भन्सार विभागले नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडब्लु) प्रणालीमार्फत ट्रान्सपोर्ट इन्फर्मेसन भेरिफिकेसन (टीआईभी) घोषणा गर्न सकिने व्यवस्था लागू गरेको छ।
विभागले सबै भन्सार कार्यालयलाई परिपत्र जारी गर्दै टीआईभीसम्बन्धी घोषणा अब एनएनएसडब्लु पोर्टलमार्फत पनि गर्न सकिने जानकारी दिएको हो।
विदेशबाट नेपाल आउने वा नेपालबाट बाहिरिने सामान कुन सवारीसाधन वा कन्टेनरमार्फत आयो, कहाँबाट ल्याइयो, कति परिमाणमा सामान छ, कसले ल्यायो तथा कुन भन्सार कार्यालय हुँदै जाने हो भन्ने ढुवानीसम्बन्धी विवरण भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था छ। यही विवरणलाई डिजिटल रूपमा दर्ता तथा प्रमाणीकरण गर्ने प्रक्रियालाई टीआईभी भनिन्छ।
भन्सार विभागले अब उक्त प्रक्रिया नेपाल नेशनल सिंगल विन्डो प्रणालीमार्फत अनलाइनबाट गर्न सकिने बनाएको जनाएको छ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभाग, सूचना प्रविधि प्रणाली शासन तथा विकास शाखाले २०८३ वैशाख २३ गते जारी गरेको सूचनाअनुसार विभागको २०८३ वैशाख १७ गतेको निर्णयपछि टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले एनएनएसडब्लु पोर्टलमार्फत टीआईभी घोषणा गर्न सक्नेछन्। साथै, म्यानुअल तथा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) दुवै माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको विभागले जनाएको छ।
विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई एनएनएसडब्लु पोर्टल प्रयोग गरी टीआईभीसम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।
भन्सार विभागले आफ्नो आधिकारिक वेबसाइटमा टीआईभी मोड्युलको लिंक समेत थप गरिएको जनाएको छ। साथै, क्यूआर कोड स्क्यान गरेर पनि टीआईभी घोषणा गर्न सकिने व्यवस्था मिलाइएको विभागले उल्लेख गरेको छ।
नयाँ प्रणाली कार्यान्वयनसँगै भन्सार प्रशासनलाई थप डिजिटल, पारदर्शी र सेवामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















