Dhulikhel Eco Banner new

हल्लाको पछि नलाग्नुस्, निजी क्षेत्र सरकारको साझेदार होः अर्थमन्त्री वाग्ले

1.42K
shares

काठमाडौं, २६ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्ने कुनै योजना सरकारसँग नभएको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र सरकारको साझेदार भएकाले अनावश्यक भ्रममा नपर्न व्यवसायीलाई आग्रह गरे।

उनले भने, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र बनाउने पनि होइन। तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो।”

अर्थमन्त्री वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। उनले सरकारका पाँच प्रमुख प्राथमिकताबारे पनि जानकारी गराउँदै पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार रहेको उल्लेख गरे।

मुलुक अहिले “अर्थतन्त्रको जहाज मोड्ने” निर्णायक अवस्थामा रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे।

कार्यक्रममा उनले छिमेकी भारतको आर्थिक प्रगतिको उदाहरण प्रस्तुत गर्दै राजनीतिक स्थायित्व र इमानदार नेतृत्वबाट आर्थिक रूपान्तरण सम्भव हुने बताए।

उनले भने, “सन् २०१४र१५ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको अवस्थासँग मिल्दोजुल्दो थिए। तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ। हामी पनि अब त्यही बाटोमा अघि बढ्ने बेला भएको छ।”