चालु खाता र शोधनान्तर स्थिति बढ्यो
वि.सं.२०८३ वैशाख २८ सोमवार १८:०७
shares

काठमाडौं, २८ वैशाख । आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा मुलुकको बाह्य क्षेत्र सुदृढ देखिएको छ। समीक्षा अवधिमा चालु खाता ६१८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२२ अर्ब ६७ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा समेत चालु खाता ४ अर्ब ३२ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ६४ करोड थियो।
त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ७ अर्ब ७१ करोड रुपैयाँ मात्र थियो।
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १४ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ९४ करोड रुपैयाँ थियो।
शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधार भई ७३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ३४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा शोधनान्तर स्थिति ५ अर्ब १० करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ५५ करोड थियो।















