Dhulikhel Eco Banner new

विदेशी मुद्रा सञ्चिति करिब ३५ खर्ब रुपैयाँ नजिक

1.18K
shares

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति करिब ३५ खर्ब रुपैयाँ नजिक पुगेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म चैत मसान्त कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भई  ३४ खर्ब ९५ अर्ब ७३ करोड पुगेको हो। गत असार मसान्तमा यस्तो सञ्चिति  २६ खर्ब ७७ अर्ब ६८ करोड थियो।

अमेरिकी डलरमा सञ्चिति पनि २०.८ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोडबाट २३ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति २७.७ प्रतिशतले बढेर ३० खर्ब ८२ अर्ब पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ५६.८ प्रतिशतले वृद्धि भई  ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले २१.८ महिनाको वस्तु आयात तथा १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ।

चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात ५७.२ प्रतिशत पुगेको छ, जुन असार मसान्तमा ४३.८ प्रतिशत थियो।

व्यापारतर्फ समीक्षा अवधिमा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड र आयात १४ खर्ब ९० अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।