Dhulikhel Eco Banner new

१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा ठूलो आकर्षण

819
shares

उद्योग विभाग का अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको विभागले जनाएको हो ।

तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योग क्षेत्रमा देखिएको छ । १६ वटा कृषिसम्बन्धी परियोजनामा मात्रै २२ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । पछिल्लो समय कृषि तथा कृषि प्रशोधन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको संकेत यसले गरेको छ ।

पर्यटन क्षेत्र पनि विदेशी लगानीको प्रमुख गन्तव्य बनेको छ । १८९ पर्यटनसम्बन्धी परियोजनामा १२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । त्यस्तै सेवा, उत्पादन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा पनि लगानी प्रस्ताव आएको छ ।

सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै ४२१ परियोजना दर्ता भए पनि लगानी रकम भने तुलनात्मक रूपमा कम देखिएको छ । उक्त क्षेत्रमा एक अर्ब ७४ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको विभागले जनाएको छ । ऊर्जा र खनिज क्षेत्रमा भने लगानी आकर्षण न्यून देखिएको छ ।

वैशाख महिनामा मात्रै ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ । सरकारले लगानीमैत्री वातावरण बनाउने दाबी गरिरहे पनि प्रतिबद्ध लगानी वास्तविक रूपमा कार्यान्वयन हुने चुनौती भने अझै कायम छ ।