Dhulikhel Eco Banner new

तरकारीदेखि चामलसम्म महँगीको चर्को मार

1.57K
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि देखिएको सरकारी प्रतिवेदनले जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको मासिक मूल्य समीक्षा प्रतिवेदनअनुसार तरकारी, खाद्यान्न, दाल तथा खाने तेलको मूल्य तीव्र रूपमा बढ्दा उपभोक्ताको भान्सा थप महँगिएको हो ।

विभागले काठमाडौं उपत्यकासहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीका बजारको अध्ययन गर्दा तरकारीमा सबैभन्दा बढी मूल्यवृद्धि घिउसिमी लोकलमा देखिएको छ । प्रतिकिलो २३ रुपैयाँ रहेको घिउसिमी एक महिनामै १ सय रुपैयाँसम्म पुगेपछि यसको मूल्य ३३४ प्रतिशतभन्दा बढीले बढेको तथ्यांकमा उल्लेख छ । तने बोडी, लौका, फर्सी र काँक्रोजस्ता तरकारीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ ।

खाद्यान्नतर्फ चामल, दाल र गेडागुडीको मूल्यले पनि उपभोक्तालाई राहत दिन सकेको छैन । सोना मन्सुली चामल प्रतिकिलो ९५ रुपैयाँसम्म पुगेको छ भने बासमती चामल काठमाडौंमा १ सय ९० रुपैयाँ किलोसम्म बिक्री भएको विभागले जनाएको छ । रहरको दाल प्रतिकिलो २ सय ७० रुपैयाँसम्म पुगेको छ ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको वृद्धि, अमेरिकी डलरको उतारचढाव तथा मध्यपूर्वको भूराजनीतिक तनावका कारण बजारमा महँगी बढेको हो । विभागले कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि नियमित बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।