फ्लाई दुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्ने
२२ अर्ब लागतको विमानस्थललाई पहिलो नियमित अन्तरराष्ट्रिय उडानको अवसर
वि.सं.२०८३ जेठ २७ बुधवार ०७:२५
shares

काठमाडौं — फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा दैनिक सिधा उडान सुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका लागि आवश्यक अनुमति दिइसकेको छ। उडान सुरु हुनुअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी र सञ्चालन व्यवस्थाको उच्चस्तरीय निरीक्षण पनि गरिसकेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी भित्र्याउन कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै यो अनुमति प्राप्त भएको हो।
सन् २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल हालसम्म आन्तरिक उडानमा मात्र सीमित छ। झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्मित यो विमानस्थलबाट चार्टर उडानबाहेक कुनै नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन। सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरे पनि गत मार्च २३ मा त्यो सेवा बन्द भएको थियो।
पर्यटकीय राजधानी मानिने पोखराका व्यवसायीहरू लामो समयदेखि नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा थिए। विमानस्थल बनेपछि पोखराको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँ बराबरको लगानी थपिएको छ। अन्तरराष्ट्रिय उडान नहुँदा त्यो लगानी अपेक्षित प्रतिफल दिन नसकेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले भारत र चीनका मुख्य सहरमा पनि नियमित उडान सुरु गर्न राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई अनुमति दिनुपर्ने र आवश्यक नीतिनियममा सहजीकरण गर्नुपर्ने माग राख्दै आएका छन्। फ्लाई दुबईको उडानले ५० वर्षअघिदेखिको सपना साकार पार्दै पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने पहिलो ठोस कदम बन्ने अपेक्षा गरिएको छ।















