Dhulikhel Eco Banner new

मकालु वाइन आईपीओमा आउँदै, १० लाख कित्ता सेयर निष्काशन गर्ने

नेपालकै पहिलो वाइन उद्योगले पूँजी बजारमा प्रवेश गर्ने तयारी थाल्यो

1.53K
shares

काठमाडौं — नेपालकै पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतामा मकालु वाइनका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिकामा स्थापना भएको यो कम्पनी समुद्र सतहदेखि करिब दुई हजार आठ सय मिटर उचाइमा रहेको छ। कम्पनीले प्राकृतिक मुहानको पानी र चुत्रो तथा ऐँसेलुजस्ता जंगली फलबाट अर्गानिक “हिंवा वाइन” उत्पादन गर्दै आएको छ। कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ।

कम्पनीमा देवश्री भेन्चर, हार्भेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट र स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी पनि गरिरहेको जनाएको छ।

यो आईपीओलाई नेपालको अर्गानिक वाइन उद्योगलाई पहिलो पटक पूँजी बजारसँग जोड्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। स्थानीय जंगली फलबाट उत्पादित अर्गानिक वाइनको कारोबार अब सर्वसाधारण लगानीकर्ताका लागि पनि खुल्ला हुने भएको छ।