Dhulikhel Eco Banner new

अमेरिका–नेपाल व्यापारिक सम्बन्ध सुदृढ बनाउन एमच्याम नेपालको नेतृत्व संवाद

1.09K
shares

काठमाडौं, १४ असार । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले क्रस रिभर बैंकसँगको सहकार्यमा “नेपाल, विश्वव्यापी पूँजी र वित्तीय नवप्रवर्तनको भविष्य” विषयक उच्चस्तरीय विशेष नेतृत्व संवाद आयोजना गरेको छ।

उक्त संवादमा नेपालका बैंकिङ, वित्त, लगानी, फिनटेक, बीमा, निजी इक्विटी तथा निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अमेरिका–नेपाल व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रणनीतिक छलफल भएको थियो। संवादले नेपाललाई उदाउँदो लगानी गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावनालाई उजागर गर्दै नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व र दीर्घकालीन साझेदारीमार्फत अमेरिका र नेपालबीच आर्थिक सहकार्य विस्तार गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै एमच्याम नेपालका उपाध्यक्ष आकाश गोल्छाले नेपाललाई अवसरको मुलुकका रूपमा स्थापित गर्ने चेम्बरको उद्देश्यबारे जानकारी दिए । साथै, निरन्तर पैरवी, रचनात्मक नीतिगत संवाद तथा दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउँदै नेपालको लगानी वातावरण सुधार गर्न चेम्बर सक्रिय रहने उल्लेख गरे ।

क्रस रिभर बैंकका तर्फबाट कार्यकारी उपाध्यक्ष प्रवेश रिजालले नेपाल भ्रमणलाई दीर्घकालीन सहकार्यको सुरुवात भएको बताए । बैंकका सह–प्रमुख हेनरी पेनेलले नेपालको वित्तीय नेतृत्व तथा अन्तर्राष्ट्रिय सहकार्यप्रतिको दृष्टिकोणको प्रशंसा गरे । काठमाडौंस्थित अमेरिकी दूतावासकी आर्थिक प्रमुख क्याथरिन लिहीले पनि अमेरिका–नेपाल व्यापारिक सम्बन्ध विस्तारको महत्त्वमा जोड दिइन् ।

कार्यक्रमको सञ्चालन एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाले गरेका थिए । उनले सेलेक्ट युएसए मा सहभागिता, नेपाली डायस्पोरासँगको पहुँच विस्तार तथा डायस्पोरा इनभेस्टमेन्ट पोर्टल लगायत एमच्याम नेपालका व्यापक व्यापारिक कूटनीतिक पहलहरूबारे जानकारी दिए ।