अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा भने मूल्य घटेन
वि.सं.२०८३ असार १५ सोमवार ०९:२१
shares

विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा पेट्रोल र डिजेलको खुद्रा मूल्य यथावत् राखिएको छ। मूल्य बढ्दा तत्काल समायोजन गर्ने सरकार र नेपाल आयल निगम अहिले भने प्राविधिक प्रक्रियाको बहाना बनाउँदै उपभोक्तालाई राहत दिन हिचकिचाइरहेका छन्।
मध्यपूर्वमा युद्ध चर्किएका बेला प्रतिव्यारेल ११० डलरभन्दा माथि पुगेको ब्रेन्ट क्रुडको मूल्य हाल ७२–७३ डलरमा झरेको छ। डब्लुटीआई कच्चा तेल पनि ६९–७० डलरको हाराहारीमा आइसकेको छ। अघिल्लो महिनाको तुलनामा मात्रै मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ।
तर यसको फाइदा नेपाली उपभोक्ताले पाउन सकेका छैनन्। निगमले पेट्रोल र डिजेलको मूल्य महिनाको १ र १६ गते मात्रै समायोजन गर्ने बताउँदै आएको छ। तर विगतमा यही कार्यतालिका पालना भएको देखिँदैन। विशेषगरी २०८२ चैतमा एकै महिनामा पाँच पटकसम्म मूल्य बढाइएको थियो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले भने इन्धनको मूल्य छिट्टै घट्ने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले भारतीय आयल निगममार्फत आयात हुने भएकाले मूल्य समायोजन हुन केही समय लाग्ने स्पष्ट पारे।
उपभोक्ताले भने मूल्य बढ्दा हतारिने र घट्दा ढिलाइ गर्ने सरकारी प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटको लाभ समयमै आफूहरूसम्म पुग्नुपर्ने उनीहरूको माग छ।



















