Dhulikhel Eco Banner new

कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

अन्तिम १६ चरणका सबै खेल सम्पन्न

637
shares

स्विट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

पेनाल्टीमा स्विट्जरल्यान्डले ४–३ को जित निकाल्यो। टोलीका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे। म्यानुअल अकान्जीको प्रहार भने सफल हुन सकेन।

कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीमा गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भएपछि कोलम्बियाको विश्वकप यात्रा समाप्त भयो।

स्विट्जरल्यान्डको जितसँगै विश्वकप २०२६ को अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन्। अब प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ, जहाँ उपाधि दाबेदार टोलीहरूबीचको प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षा गरिएको छ।