Dhulikhel Eco Banner new

साउन २१ देखि सुरु हुँदै करदाता प्रोत्साहन कार्यक्रम, डिजिटल वालेटलाई राष्ट्र बैंकको निर्देशन

754
shares

उपभोक्ताहरूमा बिल माग्ने बानी बसाल्न र कर छली न्यूनीकरण गर्ने लक्ष्यसहित आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ साउन २१ गतेदेखि सञ्चालनमा ल्याउँदैछ। कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सबै डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकलाई विशेष परिपत्र जारी गरेको छ।

राष्ट्र बैंकको निर्देशनअनुसार अब सबै डिजिटल वालेटले आफ्नो मोबाइल एपमा यो कार्यक्रमसम्बन्धी ‘बारम्बार सोधिने प्रश्न’ को छुट्टै खण्ड अनिवार्य रूपमा राख्नुपर्नेछ। साथै साउन १६ गतेदेखि नै प्रयोगकर्तालाई नोटिफिकेसन पठाएर कार्यक्रमबारे जानकारी दिन र आवश्यक परेमा एप अपडेट गर्न समेत सूचित गर्न भनिएको छ।

व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढीको खरिद गर्ने र व्यक्तिगत प्यान भएका नेपाली नागरिक यो योजनामा सहभागी हुन सक्नेछन्। तथापि व्यावसायिक खरिद, सरकारी निकायका बिल, टेलिफोन, इन्टरनेट, विद्युत महसुल र हवाई टिकट यो योजनाबाहिर रहनेछन्।

पुरस्कारका दुई किसिमका व्यवस्था गरिएको छ। दैनिक विजेतालाई एक लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गरिनेछ, जसमा २५ प्रतिशत आकस्मिक लाभ कर कटाएर खुद एक लाख रुपैयाँ प्राप्त हुनेछ। पन्ध्र दिने बम्पर उपहारअन्तर्गत एक जना विजेताले १० लाख रुपैयाँ पाउनेछन् — कर कटाएर खुद ७ लाख ५० हजार रुपैयाँ हातमा आउनेछ। महिनामा यस्ता दुईवटा बम्पर उपहार वितरण गरिनेछ।

क्यूआर कोड, वालेट वा मोबाइल बैंकिङमार्फत गरिएका भुक्तानी स्वतः विभागको प्रणालीमा दर्ता हुनेछन्। नगद भुक्तानीको हकमा भने उपभोक्ताले साउन १६ गतेदेखि उपलब्ध हुने विभागको डिजिटल प्लेटफर्ममा बिल नम्बर, विक्रेताको प्यान, मिति र रकम तोकिएको समयभित्र आफैं दर्ता गर्नुपर्नेछ।