Dhulikhel Eco Banner new

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा सुनको मूल्य बढ्यो

806
shares

काठमाडौँ, १८ साउन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल नयाँ सैन्य आक्रमण नगर्ने र वार्तालाई प्राथमिकता दिने संकेत दिएपछि तेलको भाउमा कमी आएको हो । उता, सोमबार सुनको मूल्य भने बढेको छ ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा उक्त दिन स्पट गोल्डको मूल्य शून्य दशमलव ४ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ५५ डलर ७६ सेनट पुगेको छ । उता, यूएस गोल्ड फ्युचर्स पनि शून्य दशमलव ९ प्रतिशतको वृद्धिसहित प्रतिऔंस ४ हजार ५४ डलर पुगेको छ ।

ट्रम्पले अमेरिका र इरानबिच सोमबार वार्ता हुने जानकारी दिएका छन् । तर यस क्रममा उनले सम्झौताका लागि कुनै अन्तिम समयसीमा भने तोकेनन् । वार्ताको आशा बढेसँगै तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

यसैबिच, जापानी येनलाई समर्थन गर्न गरिएको विदेशी विनिमय बजार हस्तक्षेपका कारण अमेरिकी डलर कमजोर बनेको छ । डलर कमजोर हुँदा अन्य मुद्रा बाहकका लागि सुन किन्न सस्तो हुने भएकाले सुनको माग बढेको विश्लेषण गरिएको छ ।

केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररका अनुसार सुनले साताको सुरुआत सकारात्मक रूपमा गरे पनि पश्चिम एसियाको अवस्था र तेल बजारको अनिश्चितताका कारण यसको मूल्यवृद्धि अझै सीमित रहेको छ । विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव सुरु भएदेखि नै बढ्दो मुद्रास्फीतिको चिन्ताले सुनको मूल्यमा दबाब परेको थियो । युद्धका कारण मुद्रास्फीति बढेमा केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने भएकाले ब्याज नदिने सम्पत्ति मानिने सुनको आकर्षण घट्ने सम्भावना रहन्छ ।

गत साता अमेरिकी फेडरल रिजर्भका तीन अधिकारीहरूले मुद्रास्फीति २ प्रतिशतको लक्ष्यभन्दा माथि रहन सक्ने भन्दै ब्याजदर बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए । यसैसाता सार्वजनिक हुने अमेरिकी रोजगारीसम्बन्धी विभिन्न आर्थिक तथ्याङ्क, विशेषगरी गैर–कृषि रोजगारी प्रतिवेदनले पनि सुन बजारको आगामी दिशामा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सोमबार कमोडिटी बजारमा अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । चाँदीको मूल्य शून्य दशमलव ९ प्रतिशतले बढेर प्रतिऔंस ५८ डलर १३ सेन्टमा पुगेको छ । उक्त दिन प्लाटिनम शून्य दशमलव ५ प्रतिशतले बढेर १ हजार६४९ डलर ३५ सेन्ट पुग्दा प्यालेडियममा १ दशमलव ७ प्रतिशतको वृद्धिसहित १ हजार २९४ डलर ९२ सेन्टमा उक्लिएको छ ।