एक वर्षमा जीवन बीमकको व्यवसाय २ खर्बमाथि, अग्रस्थानमा नेपाल लाइफ हुँदा वृद्धिदरमा आइएमई अघि
वि.सं.२०८३ साउन १८ सोमवार १६:३७
shares

काठमाडौं, १८ साउन । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२ र ८३ मा २ खर्ब १ अर्ब ९१ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क (प्रिमियम) संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गरेका थिए।
तथ्यांकअनुसार अधिकांश जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा व्यवसाय विस्तार गरेका छन्। कुल प्रिमियम संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहँदा नेशनल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र हिमालयन लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। यता व्यवसाय वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा आक्रामक देखिएका छन्।
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १२.३४ प्रतिशत वृद्धि गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गर्दै ११.०६ प्रतिशत वृद्धि गरेको छ। त्यसैगरी एलआईसी नेपाल ले २१ अर्ब २३ करोड ३४ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गर्दै ६.५७ प्रतिशत वृद्धि गरेको छ भने हिमालयन लाइफ को प्रिमियम १८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.१६ प्रतिशत बढी हो।
त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स ले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गर्दै १६.५९ प्रतिशत वृद्धि गरेको छ भने एशियन लाइफ इन्स्योरेन्स को व्यवसाय १३.५३ प्रतिशत बढेर १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने गत आर्थिक वर्षमा व्यवसाय घट्ने एकमात्र जीवन बीमक बनेको छ। कम्पनीको प्रिमियम संकलन २.१९ प्रतिशतले घटेर ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ मा सीमित भएको छ।
अन्य कम्पनीहरूमध्ये सिटिजन लाइफ ले ९ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबर प्रिमियम संकलन गर्दै २४.९३ प्रतिशत वृद्धि गरेको छ। सानिमा रिलायन्स लाइफ ले १६.९९ प्रतिशत वृद्धि गर्दै ७ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफ ले सबैभन्दा उच्च ३७.९६ प्रतिशत वृद्धि गर्दै ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ, मेट लाइफ ले ९.६२ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ, रिलाएबल नेपाल लाइफ ले २४.१८ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ ले २१.३२ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ३३ करोड ७० लाख रुपैयाँ तथा सन नेपाल लाइफ ले १६.८० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ६३ करोड ११ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गरेका छन्।
















