Dhulikhel Eco Banner new

भक्तपुरमा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट, डेरी उद्योगमाथि कारबाही

507
shares

काठमाडौं, १८ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगको ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन १५ गते गरिएको अनुगमनका क्रममा भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रा.लि.’ मा कैफियत भेटिएपछि उक्त कारबाही गरिएको हो।

विभागका अनुसार उक्त उद्योगबाट संकलन गरिएको दूधको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएको थियो । दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र देखिएपछि मापदण्ड नपुगेको भन्दै ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा।बालकुमारी शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, विभागले सोही दिन कागेश्वरी मनोहरा–७ स्थित ‘ए वान पोलीमर एण्ड वेभेरेज प्रा.लि.’ मा पनि अनुगमन गरेको थियो। उक्त उद्योगमा भौतिक पूर्वाधार (टायल फुटेको) र बाह्य सरसफाइ व्यवस्थित नभएको पाइएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ। त्यहाँबाट पनि थप अनुसन्धानका लागि नमुना संकलन गरी प्रयोगशाला पठाइएको विभागले जनाएको छ।