Dhulikhel Eco Banner new

निजी क्षेत्रलाई सहुलियतभन्दा स्पष्ट नीति र छिटो निर्णय चाहिएको छ : अर्थमन्त्री

650
shares

काठमाडौं, २० साउन । अर्थमन्त्री डा. स्वर्णिम  वाग्लेले निजी क्षेत्रलाई सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको आवश्यक परेको बताएका छन् । नेपाल राष्ट्र बैंकसँगको अन्तरसंस्थागत समन्वय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्रीले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने अवसर पाएको बताए ।

उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलबाट निजी क्षेत्र थप आत्मविश्वासको खोजीमा रहेको निष्कर्ष आएको उल्लेख गर्दै उनले सरकारी निकायहरूको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा केन्द्रित हुनुपर्ने बताए। उनले सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छ? उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ? बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ? पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ? मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने? डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने? अब नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो। हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ? यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्ने बताए ।

उनले हामी यो सम्भव छैन भन्ने सोचबाट होइन यसलाई सम्भव बनाउन के गर्नुपर्छू भन्ने सोचबाट छलफल गर्न आग्रह गर्दै अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास भएको बताए ।

उनले भने “यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन। सरकारका तर्फबाट हामीले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएका छौँ। सुधारको प्रक्रिया सुरु भइसकेको छ। आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ। अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ। म नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहन्छु।”

उनले भने “हामीसँग अहिले दुर्लभ अवसर छ। सुधारको राजनीतिक इच्छाशक्ति छ। आर्थिक स्थायित्वको आधार बनेको छ। निजी क्षेत्र अवसरका लागि तयार छ। अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ। यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ।”