GBIME

राप्ती हाइड्रोले आईपीओ जारी गर्दै

1.08K
shares

काठमाडौं, २६ असार । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन गर्नेछ । कम्पनीले स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता शेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको हो ।

उक्त आईपीओ मध्ये १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै शेयर बिक्री नभएमा साउन ११ गतेसम्म शेयर भर्न सक्ने कम्पनीको भनाई छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।