Dhulikhel Eco Banner new

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

403
shares

काठमाडौं, ११ भदौ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।

रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ । आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।

आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भनेका छन्, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ ।”

उनले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गरे । महासचिव चपागाईले बाढीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।