Dhulikhel Eco Banner new

बाढी प्रभावितलाई दश लाख सहयोग गर्ने एमाले राजधानी प्रदेशको घोषणा

416
shares

काठमाडौँ,११ भदौ। हिमताल विस्फोट भई भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले दुःख व्यक्त गर्दै बाढी प्रभावितहरूको राहतका लागि रु दश लाख सहयोग गर्ने भएको छ ।

नेकपा (एमाले) का सचिव एवं राजधानी प्रदेश इन्चार्ज डा.राजन भट्टराईको उपस्थिति र प्रदेश कमिटी अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले मातहत कमिटीमा आबद्ध उद्यमी व्यवसायीहरुबाट खाद्यान्न राहत सङ्कलन गरी रसुवा, नुवाकोट र धादिङ जिल्ला कमिटीहरूसँग समन्वय गरी प्रभावित घर परिवारमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले विनाशकारी बाढीका कारण जीवन गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारजनमा समवेदना व्यक्त गरेको छ । राजधानी प्रदेशले यस विपद् र शोकको घडीमा राजधानी प्रदेश र मातहत कमिटीहरूबाट तय गरिएका सार्वजनिक सभा, सम्मेलन, मेला, महोत्सव जस्ता सम्पूर्ण कार्यक्रमहरू एक सातासम्म स्थगित गर्न र राहत तथा उद्धार र सहयोग परिचालन कार्यमा परिचालित हुन सम्पूर्ण कार्यकर्ता सदस्य पङ्क्तिलाई निर्देशित गरेको छ ।

बैठकपछि राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय विपदमा राष्ट्रिय एकता, सहृदय र सहयोगको नेपाली पहिचानलाई पुनः प्रमाणित गर्न जरुरी रहेको निष्कर्षसहित सरकारलाई सबै पक्षलाई विश्वासमा लिई समन्वय तथा सहकार्य गर्दै तत्काल उद्धार, राहत तथा सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न अपिल गरेको छ ।