Dhulikhel Eco Banner new

बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग

351
shares

काठमाडौँ,११ भदौ। अपि पावरले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धार गर्न आग्रह गरेको छ ।

काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम तत्काल उपलब्ध गराएको हो । अपि पावरकी अध्यक्ष सिर्जना खड्काले सहयोग रकमबाट बाढी प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले खोज तथा उद्धारपछि प्रभावितको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको बताएकी छन् ।

बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जलविद्युत् आयोजना तथा अन्य संरचनामा ठुलो क्षति पुगेको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ ।कम्पनीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अपि पावरले आफ्ना विभिन्न जलविद्युत् आयोजनाका कर्मचारीसहित बाढीमा बेपत्ता भएका सबै नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।यस्तै, थप जनधनको क्षति हुन नदिन अधिकतम सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्न कम्पनीले सबैमा आग्रह गरेको छ ।

अपि पावरले हाल ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत् उत्पादन गरिरहेको जनाएको छ । कम्पनीले एक दर्जन सहायक कम्पनीमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा समेत काम गर्दै आएको छ ।