‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै
वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:५७
shares

काठमाडौं, १९ भदौ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।
भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् ।
धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित कारागारमा वासुदेव र देवकीको पुत्रका रूपमा भएको हो । कंसको अत्याचारबाट पीडित संसारलाई मुक्त गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
जन्माष्टमीलाई गोकुलाष्टमी, श्रीकृष्ण जयन्ती, श्री जयन्तीलगायत नामले पनि चिनिन्छ । यस अवसरमा विशेषगरी कृष्ण मन्दिरमा भजन–कीर्तन, पूजा तथा धार्मिक अनुष्ठान गरिन्छ ।
श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर र माखनचोरलगायत विभिन्न नामले पुकारिन्छ । श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको उपदेश तथा भगवद्गीतामार्फत कर्म, धर्म र कर्तव्यको सन्देश दिएको धार्मिक विश्वास छ ।
आजको दिन नेपालका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुन्छन् । पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।


















