एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:३६
shares

काठमाडौं, १९ भदौ । हालै आएको बाढीका कारण प्रभावित भएका व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गरेको छ । यस कठिन समयमा एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. १ करोड ३५ लाख सहयोग गरेको छ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो। यससँगै, फोनपे र इसेवा मार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १,२९,०१३ प्रयोगकर्ताले रु. ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८,६२,४४५ प्रयोगकर्ताले रु. २ अर्ब १९ करोड सहयोग गरेका छन्। फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ। भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्ट मार्फत १९,८५८ प्रयोगकर्ताले रु. ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २,९६५ प्रयोगकर्ताले रु. १ करोड ६३ लाख सहयोग गरेका छन्।
संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ।


















