बाढीले जलविद्युत आयोजना तहसनहस : सेयर बजारमा २५ अर्बको गिरावट, आईपीओ निष्कासन ठप्प
साप्ताहिक तथा दैनिक चार्टको प्राविधिक विश्लेषण
वि.सं.२०८३ भदौ २१ आइतवार ०९:१५
shares

काठमाडौं — रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले जलविद्युत आयोजनाहरूमा पुर्याएको अकल्पनीय क्षति र नियामक निकायको निष्क्रियताको प्रत्यक्ष असर यस साता सेयर बजारमा देखिएको छ। जलविद्युत कम्पनीहरूको सेयरमा उच्च बिक्री चाप (प्यानिक सेल) पर्दा एकै सातामा लगानीकर्ताले करिब २५ अर्ब रुपैयाँ गुमाएका छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवाका १२ वटा जलविद्युत आयोजनामा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। करिब ६ सय ६९ मेगावाट क्षमताका माथिल्लो त्रिशूली–१, रसुवागढी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला लगायतका आयोजना पूर्णरूपमा क्षतिग्रस्त बनेका छन्। सयौं कामदार अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको यस त्रासदीपूर्ण अवस्थाले जलविद्युत उपसमूहका लगानीकर्तामा चरम निराशा छाएको छ। यसैको प्रभावस्वरूप हाइड्रोपावर सेक्टरमा भारी गिरावट आउँदा समग्र नेप्से सूचक नै प्रभावित बन्न पुग्यो।
बजार घट्नुको अर्को मुख्य कारण नेपाल धितोपत्र बोर्ड (सेबोन) को चरम ढिलासुस्ती पनि हो। बजारमा तरलता र पुँजीको आवश्यकता बढिरहेको बेला बोर्डले लामो समयदेखि आईपीओ निष्कासनको प्रक्रिया रोकेर राखेको छ। नयाँ नेतृत्व आए पनि गत वैशाखयता कुनै पनि कम्पनीले आईपीओको स्वीकृति पाएका छैनन्। हाल बोर्डको पाइपलाइनमा ३५ वटा जलविद्युत र ३१ वटा उत्पादनमूलक सहित जम्मा १०८ वटा कम्पनी अड्किएका छन्। यी कम्पनीहरूको ७० अर्ब २० करोड रुपैयाँ बराबरको ४८ करोड १७ लाख कित्ता सेयर निष्कासन अनुमति नपाउँदा साना लगानीकर्ताहरू नयाँ अवसरबाट वञ्चित भएका छन्।
यस साता ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १४.५ अंकले घटेर २५४२.७७ को विन्दुमा झरेको छ। बजार पुँजीकरण खुम्चिएर ४३ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ भने कारोबार रकम पनि घटेर दैनिक सवा ३ अर्बको हाराहारीमा पुगेको छ। साताभरमा निर्जीवन बिमा उपसमूहमा सबैभन्दा धेरै ४.५ प्रतिशतको गिरावट देखियो। जलविद्युततर्फ मैलुङ खोलाको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घट्यो भने, खस्किएको बजारमा पनि उपकार लघुवित्तका लगानीकर्ताले भने करिब साढे २१ प्रतिशतले नाफा कमाए।
प्राविधिक विश्लेषणअनुसार समग्र बजार हाल ‘डाउन ट्रेन्ड’ मा रहे पनि २५०० को बलियो टेवा (सपोर्ट) विन्दु परीक्षण गरिरहेको छ। १४ साताको आरएसआई (RSI) सूचक ३६.७५ को विन्दुमा अर्थात् ‘ओभरसोल्ड’ क्षेत्रको नजिक पुगेकाले बजार निकै सस्तो भइसकेको विश्लेषकहरूको भनाइ छ। आगामी साता नेप्सेले २५०० को विन्दुलाई जोगाउन सकेमा बजार बाउन्स ब्याक हुँदै २६०० देखि २६७३ को प्रतिरोध (Resistance) विन्दुसम्म पुग्न सक्ने प्राविधिक अनुमान छ। यद्यपि, उक्त सपोर्ट भत्किएमा बजार थप तल जान सक्ने जोखिम पनि कायमै छ।



















