जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजी तीव्र : ९ सय होइन, १२१ जना मात्र फसेको सेनाको निष्कर्ष
वि.सं.२०८३ भदौ २४ बुधवार ०८:०३
shares

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा आएको विनाशकारी बाढीपछि सुरुङ (टनेल) भित्र फसेका कामदारहरूको उद्धार कार्यलाई तीव्रता दिइएको छ। बाढीलगत्तै ९ सयभन्दा बढी कामदार सुरुङमा फसेको भन्ने भ्रामक खबर फैलिए पनि, नेपाली सेनाले त्यसलाई गलत ठहर गरेको छ। नेपाली सेनाको सूक्ष्म अध्ययन र प्राविधिक विश्लेषणअनुसार विभिन्न आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्र फसेको निष्कर्ष निकालिएको छ। बाढी प्रभावित ११ वटा आयोजनामा कुल २,२१५ जना कामदार आबद्ध भए पनि अधिकांश कामदारहरू बाढीको समयमा सुरुङबाहिर रहेका, सुरक्षित स्थानमा भागेका वा बाहिरैबाट बगेको सेनाको आकलन छ।
अहिले नुवाकोटको त्रिशूलीमा ‘प्राक्टिकल हेडक्वार्टर’ स्थापना गरी नेपाली सेनाको नेतृत्वमा उद्धारको कमान्ड भइरहेको छ। हजारौँ मिटर लामा र लेदोले भरिएका सुरुङभित्रको उद्धार निकै चुनौतीपूर्ण भए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै भारत, चीन र दक्षिण कोरियाका सुरुङ विज्ञहरू अहोरात्र खटिएका छन्। प्रतिकूल अवस्थाका बाबजुद उद्धारमा चमत्कारिक सफलताहरू पनि हात परेका छन्। बाढी आएको ११औँ दिनमा माथिल्लो त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिक र त्रिशूली ३ ‘ए’ बाट १०औँ दिनमा दुई जना कर्मचारीलाई जीवितै उद्धार गरिएको छ, जसले अझै पनि केही कामदार जीवितै हुनसक्ने आशा जगाएको छ।
हाल माथिल्लो त्रिशूली-१ मा करिब ५० जना र त्रिशूली ३ ‘ए’ मा ४० जना कामदार सुरुङभित्र रहेको अनुमान छ। त्यसैगरी, रसुवागढी, लाङटाङ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङहरूमा पनि लेदो पन्छाउँदै सेना र विदेशी विज्ञको टोली अघि बढिरहेको छ। लाङटाङ र त्रिशूली-१ लगायतका केही सुरुङभित्र शवहरू समेत फेला पर्न थालेका छन्। चिलिमेको ‘भी’ (V) आकारको सुरुङमा ९ फिटसम्म लेदो भरिएकाले हेलिकोप्टरमार्फत उपकरण लगेर खोजी कार्य अघि बढाइएको छ भने त्रिशूली-३ ‘बी’ का कामदारहरू सुरुङमा नभई नजिकैको बस्तीमा रहेको अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक सञ्जाल टुटेका दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत प्राविधिक सामग्री र खाद्यान्न पुर्याउने काम निरन्तर भइरहेको छ। नेपाली सेनाले सबै सुरुङको पूर्ण रूपमा ‘ब्रेकथ्रु’ नभएसम्म वा सरकारले आधिकारिक रूपमा खोजी कार्य रोक्न निर्देशन नदिएसम्म उद्धार अभियान जारी राख्ने प्रतिबद्धता जनाएको छ। विषम परिस्थिति र लेदोको सागरबीच भइरहेको यो महाअभियानले राज्य आफ्ना नागरिक र श्रमिकहरूको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ।


















