पुँजीगत लाभकर राजपत्रमा प्रकाशित भएसँगै उत्साह : के नेप्सेले २,६७३ को प्रतिरोध पार गर्ला ?
वि.सं.२०८३ असोज ७ बुधवार ०८:४३
364
shares
shares

काठमाडौं — पुँजीगत लाभकर (सीजीटी) घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएसँगै उच्च मनोबलमा रहेका सेयर लगानीकर्ता आज बुधबारको बजार खुल्ने प्रतीक्षामा छन्। मंगलबार ७.०६ अंकले उकालो लागेर २,६५४.२८ विन्दुमा बन्द भएको नेप्सेले आज प्राविधिक रूपमा महत्त्वपूर्ण मानिएको २,६७३ को प्रतिरोध (रेजिस्टेन्स) विन्दु परीक्षण गर्ने प्रक्षेपण विश्लेषकहरूको छ।
लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले प्राकृतिक व्यक्तिलाई लाग्ने अल्पकालीन पुँजीगत लाभकर ५ प्रतिशत र दीर्घकालीन लाभकर ३.७५ प्रतिशतमा झारेपछि बजारमा उत्साह फर्किएको हो। खरिद लागत कटाएर हुने खुद नाफामा मात्र यो कर लाग्ने स्पष्ट व्यवस्थाले साना तथा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत दिएको छ। यही नीतिगत स्पष्टताले मंगलबार कारोबार रकम ह्वात्तै बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको थियो। आज पनि सोही उत्साहले निरन्तरता पाउँदै बजारमा तरलता र खरिदबिक्रीको चाप उच्च रहने अपेक्षा गरिएको छ।
हिजोको बजार प्रवृत्ति हेर्दा लगानीकर्ताले छनोटपूर्ण लगानी (सेलेक्टिभ बाइङ) मा जोड दिएको देखिन्छ। हाथवे इन्भेष्टमेन्ट, हिमालयन डिस्टिलरी जस्ता कम्पनीमा उच्च कारोबार हुनु र १५ प्रतिशत बोनस घोषणा गरेको मिड सोलु हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्नुले यसलाई पुष्टि गर्छ। आज पनि लाभांशको सुनिश्चितता भएका र आधारभूत रूपमा बलिया कम्पनीहरूमै लगानीकर्ताको विशेष आकर्षण रहने अनुमान छ।
प्राविधिक दृष्टिकोणबाट हेर्दा आजको बजार निकै महत्त्वपूर्ण मोडमा छ। दैनिक चार्टमा मंगलबार सानो आकारको हरियो क्यान्डल बन्नुले बजारमा नाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रयास भए पनि अन्ततः खरिदकर्ता नै हाबी भएको देखाउँछ। एमएसीडी (MACD) सूचकले सिग्नल रेखालाई तलबाट काटेर माथि लाग्दै शून्य रेखा पार गरेको छ। त्यसैगरी, १४ दिने आरएसआई (RSI) ६०.९९ को विन्दुमा पुगेर ‘बुलिश जोन’ भित्र प्रवेश गरेकाले बजारमा खरिदको गति निकै बलियो देखिएको छ।

आज बजार खुल्दा सबैको नजर २,६७३.१४ को पहिलो प्रतिरोध विन्दुमा हुनेछ। खरिद चाप बढेर परिसूचकले यो विन्दुलाई पार गरी माथि टिकेमा बजारले २,७५४ हुँदै २,८०१ सम्मको नयाँ यात्रा तय गर्ने प्राविधिक बाटो खुल्नेछ। तर, बढेको बजारमा नाफा बुक गर्ने हाबी भई ओरालो लागेमा भने २,६०२.३९ को विन्दुमा बजारले पहिलो बलियो टेवा (सपोर्ट) पाउने देखिन्छ। नीतिगत सुधारको सुखद सन्देश र सकारात्मक प्राविधिक सूचकहरूको तालमेलले आज नेप्सेले सुधारकै लय पक्रिने बलियो सम्भावना छ।

















