सेयर कर्जामा ठूला लगानीकर्ताको रजगज : सानाको ऋण घट्दा १ करोडमाथिको माग बढ्यो
वि.सं.२०८३ असोज ७ बुधवार ०८:४७
shares

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना (साउन) मा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने ‘मार्जिन कर्जा’ मा सामान्य गिरावट आएको छ ।
तर, समग्र कर्जा घटे पनि सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ताको कर्जा माग भने बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको ‘प्रोडक्टवाइज आउटस्ट्यान्डिङ क्रेडिट’ सम्बन्धी पछिल्लो तथ्यांकअनुसार साउन मसान्तसम्म कुल मार्जिन कर्जा १ खर्ब ६६ अर्ब ४२ करोड कायम भएको छ।
यो अघिल्लो महिना (असार मसान्त) को तुलनामा करिब ८ करोड १५ लाख रुपैयाँले कम हो । साना तथा मध्यम लगानीकर्ताले ऋण तिरेर आफ्नो दायित्व घटाउँदा १ करोडभन्दा माथिको ऋण लिने ठूला लगानीकर्ताको कर्जा भने साउनमा २४ करोड ७९ लाख रुपैयाँले बढेको छ। असारमा १ खर्ब १९ अर्ब ४५ करोड रहेको यस्तो ठूलो कर्जा साउनमा बढेर १ खर्ब १९ अर्ब ७० करोड पुगेको छ।
राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीबाट प्रवाह भएको कुल मार्जिन कर्जामध्ये करिब ७२ प्रतिशत (७१.९३ प्रतिशत) हिस्सा १ करोडमाथिका ठूला ऋणीले मात्रै उपयोग गरेको देखाएको छ । यसले नेपाली पुँजी बजारमा ठूला लगानीकर्ताको पकड बलियो बन्दै गएको पुष्टि गर्छ । ठूला लगानीकर्ताले सस्तो ब्याजको फाइदा उठाइरहँदा १ करोडभन्दा कमका सबै समूहमा भने कर्जा घटेको छ।
साउनमा ५० लाखदेखि १ करोडसम्मको कर्जा करिब १६ करोड, २५ देखि ५० लाखसम्मको कर्जा करिब ३ करोड र २५ लाखभन्दा कमको साना कर्जा १४ करोड रुपैयाँले घटेको छ। एक महिनामै साना तथा मध्यम समूहको कुल ३३ करोड रुपैयाँ कर्जा घटेको हो । गत आर्थिक वर्षको साउनमा एक महिनामै झण्डै ४ अर्ब रुपैयाँले बढेको मार्जिन कर्जा यस वर्ष भने सुस्त देखिएको छ। यद्यपि, वार्षिक बिन्दुगत आधारमा गत वर्षको साउनको तुलनामा अहिलेको कुल मार्जिन कर्जा भने १५.१५ प्रतिशत (२१ अर्ब ८९ करोड) ले बढी छ। साना लगानीकर्ताले नाफा सुरक्षित गरी ऋण तिरेको र राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई दिएको लचकताका कारण ठूला ऋणीको कर्जा बढेको विश्लेषकहरूको बुझाइ छ।

















