Dhulikhel Eco Banner new

आईपिओको तयारीमा रहेको रोयल टुलिप चितवनलाई पाँचतारे डिलक्स मान्यता

559
shares

काठमाडौं, ७ असोज । चितवनको सौराहास्थित रोयल टुलिप चितवनले पर्यटन विभागबाट पाँचतारे डिलक्स स्तरीकरण प्राप्त गरेको छ। केटीएम हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्टले विभागको स्थलगत निरीक्षणपछि उक्त मान्यता पाएको हो।

कम्पनीले करिब तीन साताअघि स्तरीकरणका लागि पर्यटन विभागमा निवेदन दिएको थियो। त्यसपछि विभागका निर्देशकसहित चार सदस्यीय टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा–सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा तथा सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तोकिएका सबै मापदण्ड पूरा गरेको पाइएपछि रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता प्रदान गरिएको विभागले जनाएको छ। हालसम्म नेपालमा यस प्रकारको मान्यता प्राप्त होटलको संख्या चार पुगेको छ।

राप्ती नदी नजिक जनकौली र कुमरोज सामुदायिक वनको छेउमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको रिसोर्टमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याड तथा रिभोल्भिङ रेस्टुरेन्टका सुविधा उपलब्ध छन्। साथै, नेपालमै पहिलोपटक ‘तनावीबार’ सञ्चालनमा ल्याइएको छ भने मध्यरातसम्म मनोरञ्जनका लागि छुट्टै ‘स्पोर्ट्स बार’ पनि सञ्चालन भइरहेको छ।

रिसोर्ट निर्माणमा स्थानीय सामग्री र संस्कृतिलाई प्राथमिकता दिइएको छ। काठका फर्निचर, ढुंगा टायल, ढुंगाले छाएको छाना, जुटबाट निर्मित गलैंचा, स्थानीय कलाकारका काष्ठचित्र तथा स्थानीय रूपमा उत्पादित सजावटी सामग्रीको व्यापक प्रयोग गरिएको छ। यसले रिसोर्टमा नेपालीपन झल्काउने वातावरण सिर्जना गरेको कम्पनीले जनाएको छ।

निरीक्षणका क्रममा पर्यटन विभागका अधिकारीहरूले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वातावरणमैत्री ढंगले सञ्चालन भइरहेको रोयल टुलिप चितवनले नेपाली आतिथ्यताको नयाँ मानक स्थापित गरेको उल्लेख गर्दै यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका थिए।

रिसोर्टको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँग भएको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि सफ्ट ओपनिङ सुरु गरेको थियो भने डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो।

यसैबीच, केटीएम हस्पिटालिटीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया पनि अघि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। प्रस्तावित आईपीओको कुल आकार १५ करोड ५० लाख रुपैयाँ बराबर हुनेछ।

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर-एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। रेटिङ प्रतिवेदनअनुसार रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको छ। आईपीओपछिको ऋण–स्वपूँजी अनुपात ६१.५ः३८.५ रहने प्रक्षेपण गरिएको छ। प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्डसँगको आबद्धता र अनुभवी प्रवर्द्धक समूहलाई कम्पनीका मुख्य सबल पक्षका रूपमा औंल्याएको छ।

केटीएम हस्पिटालिटी २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा परिचित छ। पर्यटन व्यवसायीहरूका अनुसार रोयल टुलिप चितवनले प्राप्त गरेको पाँचतारे डिलक्स स्तरीकरणले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्न मद्दत गर्नेछ।