Dhulikhel Eco Banner new

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली उत्पादन

5.04K
shares

काठमाडौं, २८ असार । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महीनादेखि गर्ने लक्ष्य राखेको छ ।

कुल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउनभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र बस्तीले बताए । पटक–पटक थपिएको म्याद आगामी साउनसम्म रहेको र सोभित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ ।

‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडवक्र्समा गतवर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ,’ प्रवर्द्धक वस्तीले भने, ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत् गृहमा झारिनेछ ।’

यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले बताएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रूपमा बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका क्रममा रू. तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रू. चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले बताएको छ ।

आयोजनाको लागत प्रतिमेगावाट रू. १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ ।