Dhulikhel Eco Banner new

चाडपर्व लक्षित बजार अनुगमनमा सरकारको सक्रियता

572
shares

काठमाडौं, २७ असोज । दसैँ, तिहार र छठ पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि रोक्न सरकारले काठमाडौं उपत्यकामा ५० कर्मचारी परिचालन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उपत्यकामा दैनिक करिब १० वटा अनुगमन टोली परिचालन भइरहेका छन् । उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमन गर्ने टोलीसमेत खटाइएको छ ।

अनुगमनका क्रममा वस्तुको मूल्य, गुणस्तर, मौज्दात र आपूर्तिको अवस्थालाई प्राथमिकता दिइएको छ । चिनीको मौज्दात तथा मूल्य र खसीबोकाको मासुको मूल्यमा समेत निगरानी बढाइएको विभागले जनाएको छ ।

बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका निकाय पनि सहभागी छन् ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यले उपभोक्तालाई सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र अनिवार्य रूपमा बिलबिजक लिन आग्रह गरेका छन् । बजारमा ठगी, कृत्रिम अभाव वा अनियमितता देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न सकिने विभागले जनाएको छ ।