नेप्से सुधारका लागि सेबोनको पहल, पुनर्संरचनासहित ३० भन्दा बढी विषयमा काम अघि बढाइने
वि.सं.२०८३ असोज ३० शुक्रवार १०:५५
shares

काठमाडौं, ३० असोज। नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र आधुनिक बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सुधारका विषयमा छलफल गरेका छन्। नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापन प्रभावकारी बनाउने विषयमा असोज २९ गते बोर्डको कार्यालयमा छलफल भएको हो।
छलफलमा सेबोनका अध्यक्ष, बोर्डको उच्च व्यवस्थापन तथा नेप्सेको सञ्चालक समिति र उच्च व्यवस्थापनका पदाधिकारी सहभागी थिए। नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा सुधार गर्नुपर्ने विषयमा छलफल केन्द्रित रहेको बोर्डले जनाएको छ।
सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आधुनिक स्टक एक्सचेन्ज सञ्चालनका लागि पर्याप्त पुँजी, दक्ष जनशक्ति र प्रभावकारी सूचना प्रविधि पूर्वाधार आवश्यक रहेको बताए। नेप्सेको पुँजी तथा स्वामित्व पुनर्संरचनासँगै दोस्रो बजारको सञ्चालन, व्यवस्थापन तथा वित्तीय उपकरण र सेवाको विविधीकरणसम्बन्धी ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी सुधार अघि बढाउने बोर्डको योजना रहेको उनले जानकारी दिए।
त्यस्तै, नेप्सेका सञ्चालक समिति अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लेख भएका तत्काल कार्यान्वयन गर्न सकिने सुझावमा नेप्से केन्द्रित रहेको बताए। उनले कारोबार प्रणाली, प्रविधि, संस्थागत सुशासन तथा लगानीका उपकरण र सेवामा सुधार गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
छलफलमा सेबोनका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले प्रतिवेदनका सुझाव कार्यान्वयन, दोस्रो बजारको प्रभावकारी सञ्चालन तथा बजारमा उपलब्ध उपकरण र सेवा विस्तारका लागि बोर्डले तयार पारेका नियामकीय विषयमा प्रस्तुतीकरण गरेकी थिइन्।
बोर्डका अनुसार प्रस्तावित सुधार कार्यान्वयन भएमा लगानीका विकल्प विस्तार हुनुका साथै कारोबार प्रणालीको विश्वसनीयता र बजारको पारदर्शिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, छलफलमा उठाइएका विषय र प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ।


















