Dhulikhel Eco Banner new

राजीनामा मागिएको छैन : आईजीपी कार्की

598
shares

काठमाडौं,१३ कार्तिक। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई सरकारले पदबाट हटाउन लागेको भन्ने चर्चा र हल्ला बढेपछि प्रहरी प्रधान कार्यालयमा आकस्मिक बैठक बोलाएका थिए।

असोज १२ गते  (अक्टोबर २९) मा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बोलाइएको बैठक दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पाँच घण्टा चलेको थियो। बैठकमा वरिष्ठ प्रहरी अधिकारीहरूले संगठनको प्रतिष्ठा, आन्तरिक एकता र पछिल्ला विवादका विषयमा छलफल गरेका थिए।

बैठकका क्रममा वरिष्ठ प्रहरी अधिकारीहरूले सरकारले राजीनामा मागेको हो वा होइन भन्ने विषयमा महानिरीक्षक कार्कीसँग प्रत्यक्ष प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूलाई कसैले पनि राजीनामा माग नगरेको स्पष्ट पारेका थिए।

पछिल्लो समय आर्थिक अपराधसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका इनम सापकोटासँग महानिरीक्षक कार्कीको भनिएको सम्पर्क तथा निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियालाई लिएर पनि प्रश्न उठिरहेका बेला उक्त बैठक बसेको हो।

बैठकमा सहभागी वरिष्ठ प्रहरी अधिकारीहरूले संगठनको व्यावसायिकता जोगाउन र सार्वजनिक सुरक्षा कायम राख्न एकजुट भएर अघि बढ्ने सहमति गरेका छन्।

यसैबीच, नेपाल प्रहरीले संगठनलाई कमजोर बनाउने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।