Dhulikhel Eco Banner new

तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो

312
shares

काठमाडौं, १८ कात्तिक। तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ ।

गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार अहिले अधिकांश ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा बढेको छ । वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य बढेको उनले बताए । केही वस्तुको मूल्यमा भने अझ बढी वृद्धि भएको छ ।

कालिमाटीमा १५ वर्षदेखि व्यवसाय गर्दै आएका चौधरीले गत भदौमा रसुवामा आएको विनासकारी बाढी, दशैंका कारण भन्सार कार्यालय बन्द हुनु र त्यसपछि तिहारको माग बढ्नुले बजारमा आपूर्ति प्रभावित भएको बताए । दशैंको समयमा करिब एक साता भन्सार कार्यालय बन्द हुँदा आयात रोकिएको र खुलेलगत्तै तिहार लक्षित सामानको माग बढेकाले पर्याप्त सामान बजारमा आउन नसकेको उनको भनाइ छ ।

‘पहिलाको तुलनामा मूल्य सोध्नुहुन्छ भने महँगै छ । ड्राइफ्रुट्स सबै महँगो छ । दशैंले गर्दा एक हप्ता भन्सार कार्यालय बन्द भयो । त्यसपछि खुल्नेबित्तिकै तिहार लाग्यो । सामान ढिलो आइपुग्यो । त्यसले गर्दा पनि मूल्य महँगिएको हो,’ चौधरीले भने ।

उनका अनुसार पिस्ताको मूल्यमा सबैभन्दा बढी वृद्धि देखिएको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँ पुगेको छ । बजारको अवस्था यस्तै रहे यसको मूल्य प्रतिकिलो ३ हजार ८०० रुपैयाँसम्म पुग्न सक्ने उनले बताए ।

बाढीका कारण ढुवानी प्रभावित हुँदा पनि बजारमा मूल्य बढ्न थालेको चौधरीको भनाइ छ । पछिल्लो समय केही वस्तुको मूल्यमा सामान्य कमी आए पनि समग्र मूल्यवृद्धि कायम रहेको उनले बताए ।

‘हामीले पहिले पनि निश्चित नाफा राखेर बेच्ने हो, अहिले पनि त्यही नाफा राखेका छौँ । बीचमा खरिद लागत नै बढेकाले बिक्री मूल्य बढेको हो,’ उनले भने । आयात लागत, ढुवानी खर्च र बजारमा उपलब्धताका आधारमा खरिद मूल्य निर्धारण हुने भएकाले खुद्रा व्यापारीले मात्रै मूल्यवृद्धि नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ ।

नेपालमा भाइटीकाका अवसरमा दाजुभाइलाई सगुनका रूपमा काजु, बदाम, किसमिस, पिस्ता, ओखरलगायतका ड्राइफ्रुट्स दिने चलन छ । स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने भएकाले नेपालले भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका मुलुकबाट यस्ता वस्तु आयात गर्दै आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १७ हजार मेट्रिक टन काजु, बदाम, हेजलनट, पिस्ता, सुपारी र नरिवललगायतका वस्तु आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको १६ हजार मेट्रिक टन यस्ता वस्तु आयात भएका थिए । यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यी वस्तुको आयात मूल्य ३७ करोड रुपैयाँले बढेको छ भने परिमाण १ हजार मेट्रिक टनले वृद्धि भएको छ । तिहारमा भाइटीकाका लागि विशेष रूपमा प्रयोग हुने यस्ता वस्तुको माग चाडपर्वका बेला थप बढ्ने भएकाले आयातमा निर्भर नेपाली बजारमा आपूर्ति र मूल्यको चापसमेत बढ्ने गरेको छ ।