नेपाल लाइफको रेटिङ डबल ए मा स्तरोन्नति
वि.सं.२०८३ कात्तिक १८ बुधवार १०:४४
shares

काठमाडौं, १८ कात्तिक। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो। इक्रा नेपालका अनुसार [ICRANP-IR] AA रेटिङ प्राप्त संस्थाहरू वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा तथा अत्यन्त न्यून क्रेडिट जोखिम भएका संस्थाका रूपमा मानिन्छन्।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस (AA−) रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको थियो। उक्त रेटिङ थप एक तह माथि उक्लिँदै डबल ए (AA) मा स्तरोन्नति हुनु कम्पनीको निरन्तर वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट सुधार भई करिब १५४ प्रतिशत पुगेको छ। यो अनुपात नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि रहेको छ।
त्यसैगरी, कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएको छ। यसबाट कम्पनीको लगानी पोर्टफोलियो थप विविधीकृत र सुदृढ बनेको छ।
आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। कम्पनीले उक्त अवधिमा करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यसैगरी, कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।
वित्तीय सबलता, पर्याप्त सोल्भेन्सी अनुपात, विविधीकृत लगानी पोर्टफोलियो र जीवन बीमा बजारमा बलियो उपस्थितिका आधारमा प्राप्त यो रेटिङ स्तरोन्नतिलाई नेपाल लाइफ इन्स्योरेन्सको संस्थागत तथा वित्तीय प्रगतिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।



















