Dhulikhel Eco Banner new

माया खोला हाइड्रोपावरको नाफामा १२४.५२% को उछाल, पहिलो त्रैमासमै कमायो ६ करोड ३८ लाख रुपैयाँ

624
shares

काठमाडौं, १८ कात्तिक। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड (MKHC) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै कम्पनीको खुद नाफामा गत वर्षको तुलनामा १२४.५२ प्रतिशतको वृद्धि भएको छ।

कम्पनीको नाफामा भएको उल्लेखनीय वृद्धिमा विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएको सुधार तथा वित्तीय खर्च (ब्याज खर्च) मा आएको कमीले मुख्य भूमिका खेलेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ करोड ८० लाख रुपैयाँ रहेको थियो। यसैगरी, कम्पनीको कुल मुनाफा १३ करोड ८७ लाख रुपैयाँ र सञ्चालन मुनाफा १३ करोड ३६ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, कम्पनीको वित्तीय खर्चमा समेत उल्लेखनीय कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६५ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय खर्चमा आएको यस गिरावटले कम्पनीको खुद नाफा वृद्धिमा सकारात्मक योगदान पुर्‍याएको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा तथा कोषमा रहेको ऋणात्मक रकम घट्दै ३२ करोड २६ लाख रुपैयाँमा झरेको छ।

वित्तीय सूचकांकअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) बढेर २५ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा कायम भएको छ।

विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि, ब्याज खर्चमा आएको कमी तथा सञ्चालन नाफामा भएको सुधारले माया खोला हाइड्रोपावरको वित्तीय अवस्थामा सकारात्मक परिवर्तन देखिएको छ।