Dhulikhel Eco Banner new

धनतेरसमा राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने, दुई वर्षपछि सुनको असर्फी बजारमा

481
shares

काठमाडौं, १८ कात्तिक। नेपाल राष्ट्र बैंकले तिहारअन्तर्गत धनतेरस पर्वलाई लक्षित गर्दै बिहीबारदेखि सुन तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले भगवान् गणेश र माता लक्ष्मीको चित्र अंकित २.५ ग्रामको सुनको असर्फी तथा १० ग्रामको चाँदीको सिक्का बिक्री गर्न लागेको हो ।

दुई वर्षदेखि रोकिएको सुनको सिक्का बिक्री राष्ट्र बैंकले यस वर्ष पुनः सुरु गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलोग्राम सुन खरिद गरेको जनाएको छ ।

सुनको एउटा असर्फीको मूल्य ६० हजारदेखि ७० हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । त्यस्तै, १० ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार रुपैयाँभन्दा केही बढी हुने अपेक्षा गरिएको छ ।

सुन तथा चाँदीका सिक्काको वास्तविक मूल्य भने बिक्री हुने दिनको अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निर्धारण गरिनेछ ।

धनतेरसका अवसरमा सुन, चाँदी तथा धातुका सामग्री खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्कृतिक विश्वास छ । यही परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले सर्वसाधारणका लागि विशेष सिक्का बिक्री गर्न लागेको हो ।