Dhulikhel Eco Banner new

अमेरिकामा तीन नेपाली मूलका उम्मेदवार राज्य सांसदमा निर्वाचित

429
shares

काठमाडौं, १९ कात्तिक । अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा नेपाली मूलका तीन अमेरिकी नागरिक राज्य सांसदमा निर्वाचित भएका छन्। ह्यारी भण्डारी, सरहाना श्रेष्ठ र विश्वबहादुर शाह विभिन्न राज्यबाट सांसदमा निर्वाचित भएका हुन्।

भण्डारी मेरिल्यान्डको डिस्ट्रिक्ट ८, श्रेष्ठ न्युयोर्कको डिस्ट्रिक्ट १०३ र शाह न्यु ह्याम्पसायरको हिल्सबरो काउन्टी डिस्ट्रिक्ट ४१ बाट निर्वाचित भएका हुन्।

भण्डारी र श्रेष्ठले लगातार तेस्रो कार्यकालका लागि जित हासिल गरेका छन्। यसै निर्वाचनमा मेरिल्यान्डको डिस्ट्रिक्ट ७ए बाट प्रतिस्पर्धा गरेका नेपाली मूलका सतीश चापागाईं भने रिपब्लिकन प्रतिस्पर्धीसँग पराजित भएका छन्।

निर्वाचन परिणामअनुसार भण्डारीले १९ हजार ५३० मत प्राप्त गरेका छन्। श्रेष्ठले रिपब्लिकन उम्मेदवार सान्तोस लोपेजलाई पराजित गर्दै ३८ हजार ६०६ मत प्राप्त गरेकी छन्। यो कुल सदर मतको ६९ प्रतिशत हो।

त्यसैगरी, शाहले ५ हजार ७२६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनीसँगै डेमोक्रेटिक पार्टीका अन्य दुई उम्मेदवार लिली एम. फोस र टम स्टुअर्ट पनि निर्वाचित भएका छन्।

भण्डारी सन् २०१८ मा मेरिल्यान्डबाट निर्वाचित हुने पहिलो नेपाली मूलका राज्य सांसद बनेका थिए। श्रेष्ठ भने अमेरिकामा राज्य सांसदका रूपमा कार्यरत एक्ली नेपाली मूलकी महिला हुन्।

अमेरिकी राजनीतिमा नेपाली मूलका नागरिकहरूको प्रतिनिधित्व बढ्दै जानुलाई नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।