नेशनल लाइफ इन्स्योरेन्स विराटनगर शाखाद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित, लता लाभ व्यक्तिगत व्यापारतर्फ प्रथम
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १२:४६
shares

काठमाडौं, १९ कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। बीमा व्यवसाय विस्तार तथा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।
विराटनगरस्थित कञ्चनजङ्घा ब्याङ्क्वेटमा शनिबार आयोजित कार्यक्रममा शाखा प्रमुख अमितकुमार कर्णको अध्यक्षता रहेको थियो। कार्यक्रममा व्यक्तिगत व्यापार तथा सञ्जाल (नेटवर्क) व्यवसायअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
व्यक्तिगत व्यापारतर्फ लता लाभ प्रथम, निरञ्जन मल्लिक दोस्रो र केशवप्रसाद भट्टराई तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, सञ्जालतर्फ चन्दा कुमारी रविदास प्रथम, साहिल टेलर दोस्रो र सगमलाल चौधरी तेस्रो भएका छन्।
सम्मानित अभिकर्ताहरूलाई कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।
कार्यक्रममा मासिक रूपमा उत्कृष्ट व्यवसाय गर्ने १२ जना अभिकर्तालाई ‘टप अफ द मन्थ’ अवार्डबाट समेत पुरस्कृत गरिएको थियो। यसले अभिकर्ताहरूबीच स्वस्थ प्रतिस्पर्धा, कार्यक्षमता अभिवृद्धि र व्यवसाय विस्तारमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रमुख राईले बीमा व्यवसायलाई सम्मानित तथा सम्भावनायुक्त पेसाका रूपमा व्याख्या गरे। उनले कम्पनीको व्यवसाय विस्तार, नयाँ बीमित थप्ने तथा बीमासम्बन्धी जनचेतना फैलाउने कार्यमा अभिकर्ताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। अभिकर्ताहरूको निरन्तर मेहनत र प्रतिबद्धताले नै कम्पनीको व्यावसायिक प्रगतिमा योगदान पुग्ने उनको भनाइ थियो।
त्यसैगरी, कार्यक्रममा प्रशिक्षक डा. बीपी रेग्मीले अभिकर्ताहरूलाई उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए। उनले इच्छाशक्ति, आत्मविश्वास, निरन्तर प्रयास र सकारात्मक सोचलाई सफलताको आधारका रूपमा प्रस्तुत गर्दै बीमा व्यवसायमा कसरी प्रभावकारी रूपमा अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कम्पनीका प्रतिनिधि, शाखासँग आबद्ध अभिकर्ता तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।
उत्कृष्ट अभिकर्ताहरूको सम्मानले उनीहरूको योगदानको कदर गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा बीमा सेवा विस्तार गर्न र सर्वसाधारणमा बीमाको पहुँच बढाउन प्रोत्साहन पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।



















