प्रशासनको दाबी र उपभोक्ताको भोगाइ फरक : भक्तपुरमा अझै खाना पकाउने ग्यासको अभाव
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १३:०२
shares

काठमाडौं, १९ कात्तिक। जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै ग्यास पाउन सकेका छैनन्। लामो समयदेखि सिलिन्डर रिफिल गर्न नपाएको भन्दै स्थानीय उपभोक्ताले गुनासो गरेका छन्।
स्थानीय बासिन्दाका अनुसार ग्यास सकिएपछि सिलिन्डर भर्नका लागि महिनौंदेखि विभिन्न ग्यास डिलर तथा पसल धाउँदा पनि भरिएको सिलिन्डर पाउन सकेका छैनन्। कतिपय उपभोक्ता ग्यास खोज्दै धेरै पसल पुगे पनि रित्तो हात फर्किन बाध्य भएका छन्।
उपभोक्ताहरूले ग्यास पसल तथा डिलरले ग्यास नआएको भन्दै फर्काउने गरेको बताएका छन्। तर, प्रशासनले भने बजारमा पर्याप्त ग्यास रहेको र आपूर्ति सामान्य अवस्थामा फर्किएको दाबी गर्दै आएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बजारमा अहिले ग्यास सहज रूपमा उपलब्ध भइरहेको बताएका छन्। उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास उपलब्ध नभए अर्को ब्रान्डको सिलिन्डरसँग साटेर पनि ग्यास लिन सक्ने उनको भनाइ छ।
तर, उपभोक्ताले भने प्रशासनको दाबी र बजारको वास्तविक अवस्था फरक रहेको बताएका छन्। बजारमा पर्याप्त ग्यास रहेको भनिए पनि उपभोक्ताको घरसम्म ग्यास पुग्न नसक्नुले वितरण प्रणालीमाथि प्रश्न उठाएको छ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरिरहँदा उपभोक्ताले भने अझै ग्यासका लागि पसलपसल धाउनुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। यसले बजारमा ग्यासको वास्तविक उपलब्धता र वितरण प्रणालीको प्रभावकारितामाथि थप अनुगमन आवश्यक देखाएको छ।



















