पश्चिमी वायुको प्रभाव : पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, केही स्थानमा हल्का हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक २८ शनिवार ०८:४७
793
shares
shares

मुलुकमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको स्थिति बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार दिनभर मौसममा केही फेरबदल आउने देखिएको छ भने उच्च भेगमा चिसो महसुस हुन थालेको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तराईका अधिकांश भू-भागमा आंशिक बदली देखिए पनि केही स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना छ।
आज राति पनि देशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली कायम रहनेछ। विशेषगरी तराई, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानपख बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएको छ, जसले गर्दा आवागमनमा सामान्य प्रभाव पर्न सक्छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना अझै कायम रहेको महाशाखाले जनाएको छ।















