रामेछापको खिम्ती-ठोसे-शिवालय जलविद्युत आयोजना अघि बढाउन ३ करोड विनियोजन, अध्ययन प्रक्रिया सुरु
वि.सं.२०८३ कात्तिक २८ शनिवार ०९:०५
819
shares
shares

रामेछापको आर्थिक रुपान्तरण र ऊर्जा विकाससँग प्रत्यक्ष जोडिएको १ हजार २१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको कामले औपचारिक रूपमा गति लिने भएको छ। यस परियोजनालाई अगाडि बढाउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको विशेष पहलमा यो महत्वकांक्षी योजना सरकारी कार्यक्रममा समावेश गरिएको हो।
आयोजनालाई शीघ्र कार्यान्वयनको चरणमा लैजाने विषयमा शुक्रबार सभापति डा. बुढाथोकी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठबीच मन्त्रालयमा महत्वपूर्ण छलफल भएको थियो। सो अवसरमा सभापति बुढाथोकीले विनियोजित बजेटको प्रभावकारी सदुपयोग गर्दै विस्तृत अध्ययन, अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन (इिया) तथा स्थानीय सरोकारवालाहरूसँगको अन्तरक्रियालाई तीव्र गति दिन आग्रह गरेका थिए। मन्त्रालयतर्फबाट आवश्यक सहजीकरण र नीतिगत पहलकदमी लिन पनि उनले गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रस्तावित यो बहुउद्देश्यीय आयोजना केवल विद्युत् उत्पादनमा मात्र सीमित नरही सिँचाइ सुविधा, खानेपानी प्रबन्ध, पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ। यसले रामेछाप जिल्लाको समग्र सामाजिक-आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने मात्र नभई राष्ट्रिय अर्थतन्त्र र ऊर्जा सुरक्षामा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिएको छ।















