Dhulikhel Eco Banner new

पाकिस्तानमा पोलियो उन्मूलन अभियान चुनौतीपूर्ण, यस वर्ष ९ संक्रमित भेटिए

910
shares

काठमाडौं २८ कात्तिक। खोप अभियानप्रति समुदायको अस्वीकार र सरकारी स्वास्थ्य सेवाप्रतिको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन प्रयास चुनौतीपूर्ण बन्दै गएको छ। सन् २०२६ मा मात्रै पाकिस्तानमा पोलियोका नौ संक्रमित पुष्टि भएका छन्।

नोभेम्बर ६ मा खैबर जिल्लाका सात महिनाका बालकमा संक्रमण पुष्टि भएसँगै यस वर्ष संक्रमितको संख्या नौ पुगेको हो। पुष्टि भएका घटनामध्ये सातवटा खैबर पख्तुनख्वा प्रान्तमा देखिएका छन्।

पाकिस्तानले झन्डै तीन दशकदेखि पोलियो उन्मूलनका लागि अभियान सञ्चालन गर्दै आएको छ। यस अवधिमा अन्तर्राष्ट्रिय समुदायबाट अर्बौं अमेरिकी डलर सहयोग प्राप्त भएको छ भने चार लाखभन्दा बढी खोपकर्मी परिचालन गरिएका छन्। तर, लामो समयदेखिको प्रयासका बाबजुद पनि पोलियो उन्मूलन हुन सकेको छैन।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पोलियो उन्मूलनको चुनौती खोपको उपलब्धता र भौगोलिक कठिनाइमा मात्रै सीमित छैन। सरकारी निकाय तथा स्वास्थ्य सेवाप्रतिको कमजोर विश्वास, सुरक्षा चुनौती, गलत सूचना र खोपप्रतिको अनिच्छाले पनि अभियान प्रभावित भइरहेको छ।

विशेषगरी आधारभूत स्वास्थ्य सेवा, मातृ स्वास्थ्य, नियमित बाल खोप र स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित समुदायमा सरकारी स्वास्थ्य सेवाप्रति असन्तुष्टि देखिएको छ। कतिपय समुदायले सरकारले अन्य स्वास्थ्य समस्यालाई बेवास्ता गर्दै पोलियो खोप अभियानलाई मात्रै प्राथमिकता दिएको बुझ्ने गरेका छन्।

डनले ब्रिटिस मेडिकल जर्नलमा सन् २०२३ डिसेम्बरमा प्रकाशित प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण खैबर पख्तुनख्वाका आदिवासी समुदायका जिरगाले त्यस वर्ष मात्रै ६७७ पटक खोप अभियान बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

ती समुदायले विद्युत्, सडक, रोजगारी र नागरिक सुविधाको माग पूरा गराउन खोप अभियान बहिष्कारलाई दबाबको माध्यम बनाउने गरेका छन्। पाकिस्तानको पोलियो कार्यक्रमले समेत केही समुदायले स्थानीय समस्या समाधानका लागि खोप अभियान बहिष्कार गर्ने गरेको स्वीकार गरेको छ।

खोप अभियान सञ्चालन गर्ने टोलीभित्र पनि विभिन्न कमजोरी रहेको डनको समाचारमा उल्लेख छ। महिला खोपकर्मीको अभाव, कर्मचारीको बारम्बार सरुवा तथा आवश्यक तालिमको कमीले अभियानको प्रभावकारितामा असर पारेको छ।

समस्या समाधानका लागि स्थानीय स्तरमा विश्वास प्राप्त व्यक्तिहरूलाई अभियानमा सहभागी गराउनुपर्ने र समुदायसँग प्रभावकारी संवाद गर्नुपर्ने सुझाव दिइएको छ। त्यस्तै, आकस्मिक खोप अभियानलाई प्रान्तीय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्दै खोप पूर्वाधार, तालिमप्राप्त जनशक्ति र रोग निगरानी प्रणालीलाई स्थायी सार्वजनिक स्वास्थ्य सेवाको हिस्सा बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

पाकिस्तानको अनुभवले पोलियो उन्मूलनका लागि खोप उपलब्ध गराउनु मात्रै पर्याप्त नहुने देखाएको छ। स्वास्थ्य सेवाप्रतिको विश्वास बढाउनु, आधारभूत स्वास्थ्य सुविधा विस्तार गर्नु र स्थानीय समुदायका आवश्यकता सम्बोधन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ।