जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, भारतीय रेलवेको स्वीकृति
वि.सं.२०८३ कात्तिक २९ आइतवार १०:०२
shares

काठमाडौं, २९ कात्तिक। नेपाल र भारतबीच धार्मिक पर्यटन तथा यातायात सम्पर्क विस्तार गर्ने उद्देश्यसहित जनकपुरधामदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ ।
भारतीय रेलवले जनकपुरधाम र अयोध्यालाई जोड्ने नयाँ साप्ताहिक रेल सेवाका लागि स्वीकृति दिएको हो । करिब ६०४ किलोमिटर लामो रेलमार्गले नेपाल र भारतका विभिन्न सहरलाई जोड्नेछ ।
प्रस्तावित रेल सेवा जनकपुरधामबाट प्रत्येक शनिबार प्रस्थान गर्नेछ भने अयोध्याबाट सोमबार फर्कने तालिका तय गरिएको छ ।
यस रेल सेवाले भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती लगायतका प्रमुख रेलवे स्टेसनमा रोक्नेछ ।
जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थल हुन् । जनकपुरधाम माता सीताको जन्मभूमि तथा अयोध्या भगवान् रामको जन्मभूमिका रूपमा परिचित छन् ।
नयाँ रेल सेवाले रामायण सर्किटसँग सम्बन्धित धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाल र भारतबीचको सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
यसबाट दुवै देशबीच धार्मिक पर्यटन, व्यापार, आर्थिक गतिविधि तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ ।















