मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
वि.सं.२०८३ कात्तिक २९ आइतवार १०:१६
shares

काठमाडौं, २९ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशमा स्थिर सरकार निर्माण र जारी राजनीतिक परिस्थितिको निकास खोज्न आफूले पदबाट राजीनामा दिएको मुख्यमन्त्री यादवले बताएका छन् ।
प्रदेशसभामा निरन्तर बहुमत जुटाउने हिसाबकिताब गरेर सरकार सञ्चालन गर्नु प्रभावकारी नहुने उनको भनाइ थियो । आफ्नो राजीनामाले नयाँ सरकार गठनको प्रक्रिया सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।
यसअघि गत असोज ३० गते सत्ता गठबन्धनको साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले समेत सरकार छाडेपछि मधेश प्रदेशको राजनीतिक परिस्थिति थप जटिल बनेको थियो ।
सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको यादव सरकारको निरन्तरतामाथि प्रश्न उठ्दै आएको थियो । मुख्यमन्त्रीको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच पुनः समीकरण बन्ने बाटो खुलेको छ ।















