Dhulikhel Eco Banner new

बैंकमा पैसा राख्दा पाइने ब्याजदर घट्दै, व्यक्तिगत मुद्दतीको औसत ३.९०६ प्रतिशतमा झर्‍यो

728
shares

काठमाडौं, ३० कात्तिक। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ।

देशका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार कात्तिकको तुलनामा मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.१०७ प्रतिशतविन्दुले घटेर ३.९०६ प्रतिशत कायम भएको हो।

कात्तिक महिनामा यस्तो ब्याजदर औसत ४.०१३ प्रतिशत रहेको थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि घटेको छ। कात्तिकमा ३.००३ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर मंसिरमा ०.०१२५ प्रतिशतविन्दुले घटेर २.९९०५ प्रतिशतमा झरेको छ।

६ बैंकले घटाए ब्याजदर

मंसिर महिनाका लागि २० वाणिज्य बैंकमध्ये ६ वटाले निक्षेपको ब्याजदर घटाएका छन् भने १४ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै १ प्रतिशतविन्दुले कटौती गरेको छ। बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर मंसिरका लागि ३.५ प्रतिशत कायम गरेको छ।

त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।

एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा ०.२५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगततर्फ ४.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ०.०९ प्रतिशतविन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

सानिमा बैंकको ब्याजदर सबैभन्दा उच्च

मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकको सूचीमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५१ प्रतिशत ब्याजदर यथावत् राखेको छ।

त्यस्तै, प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल बैंकको ४.१५ प्रतिशत तथा हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत रहेको छ।

यी बैंकसहित कुल १४ वटा वाणिज्य बैंकले मंसिर महिनामा पनि कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरूको नयाँ ब्याजदरले निक्षेपमा प्राप्त हुने प्रतिफल थप घटेको देखाएको छ। व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर नै ४ प्रतिशतभन्दा तल झर्नुले बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर घट्ने क्रमलाई निरन्तरता दिएको छ।