Dhulikhel Eco Banner new

राष्ट्र बैंकका गभर्नर पौडेललाई अन्तर्राष्ट्रिय मूल्यांकनमा ‘बी’ ग्रेड

676
shares

काठमाडौं, ३० कात्तिक। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ग्लोबल फाइनान्सको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’मा ‘बी’ ग्रेड प्राप्त गरेका छन्। विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने उक्त प्रतिवेदनमा नेपालले अघिल्लो मूल्यांकनको तुलनामा सुधार गरेको छ।

ग्लोबल फाइनान्सले सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको अवधिलाई आधार मानेर गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरेको हो। मौद्रिक नीति, वित्तीय नियमन तथा आर्थिक स्थायित्वलाई मूल्यांकनका मुख्य आधार बनाइएको छ।

प्रतिवेदनअनुसार गभर्नर पौडेलको नेतृत्वमा नेपालको बाह्य आर्थिक स्थायित्वमा सुधार आएको छ भने मुद्रास्फीति न्यून स्तरमा कायम राख्न सफलता मिलेको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकले नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशतमा स्थिर राखेको थियो।

प्रतिवेदनमा डेनमार्क र पेरुले सबैभन्दा उच्च ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्। नेपालले भने ‘बी’ ग्रेड पाएको छ।

यसअघि सन् २०२४ मा नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले उक्त मूल्यांकनमा ‘सी प्लस’ ग्रेड प्राप्त गरेका थिए। त्यसको तुलनामा सन् २०२६ मा नेपालको मूल्यांकन एक तहभन्दा बढी सुधार भएको देखिएको छ।