Dhulikhel Eco Banner new

पुँजीबजार सुधार कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओ सुवेदीको प्रतिबद्धता

2.78K
shares

काठमाडौं, २ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक काम अघि बढाउने बताएका छन्।

नेप्से कार्यालयमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सीईओ सुवेदीले पुँजीबजारको विकास तथा स्थायित्वका लागि सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताएका हुन्।

छलफलका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालयले अघि सारेको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय उठाएका थिए। उनले कार्ययोजना समयमै कार्यान्वयन भए पुँजीबजारमा देखिएका संरचनागत समस्याको समाधान तथा बजार व्यवस्थापनमा सुधार गर्न सहयोग पुग्ने धारणा राखेका थिए।

बैठकमा पुँजीबजारको विकासका लागि नियामक निकाय, नेप्से, धितोपत्र दलाल व्यवसायी तथा अन्य सम्बन्धित संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा छलफल भएको थियो।

त्यस्तै, नीतिगत सुधारसँगै त्यसको कार्यान्वयन, संस्थागत समन्वय र बजार व्यवस्थापनका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।

भेटका क्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नवनियुक्त सीईओ सुवेदीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको थियो। एसोसिएसनले पुँजीबजार सुधारका विषयमा नेप्सेसँग आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ।

अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित निकायहरूको भूमिका, जिम्मेवारी र समन्वयलाई प्रभावकारी बनाउने विषय अहिले पुँजीबजार सुधारसम्बन्धी छलफलको प्रमुख विषय बनेको छ।