Dhulikhel Eco Banner new

सिटिजन्स सुपर ५० को १० करोड इकाई निष्काशन आजदेखि खुला

2.41K
shares

काठमाडौं, २ मंसिर । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई निष्काशन तथा बिक्री आज मंसिर २ गतेदेखि खुला गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो। यसअनुसार योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।

कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इकाई खरिदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि मंसिर १६ गतेसम्म थप हुनेछ।

सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको सामूहिक लगानी योजना हो। यसको अवधि १० वर्ष तोकिएको छ। निष्काशन प्रक्रियाअन्तर्गत न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था रहेको छ। सो परिमाणमा आवेदन नपरेमा योजना रद्द गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।