Dhulikhel Eco Banner new

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह र विशेष पूजा गरिँदै

234
shares
काठमाडौँ — कार्तिक शुक्ल एकादशीका दिन आज देशभर तुलसीको पूजाआराधना एवं भगवान् विष्णुसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ। आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने शास्त्रीय मान्यताअनुसार यस दिनलाई ‘ठूलो एकादशी’ का रूपमा विशेष श्रद्धापूर्वक मनाउने गरिन्छ।
हरिशयनीदेखि सुरु भएको चारमहिने चतुर्मास व्रतको समापन गर्दै आज घरघरका तुलसीमठ सिँगारेर निगालो गाडी भगवान् विष्णु र तुलसीको दाम्पत्य विवाह गरिदिने परम्परा छ। आजको दिन अन्न ग्रहण नगरी सखरखण्ड, पिँडालु र वनतरुलजस्ता कन्दमूल फलाहार गरी व्रत बस्नाले पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धार्मिकसँगै वैज्ञानिक रूपमा समेत तुलसीलाई महाऔषधि मानिने भएकाले हरेक घरमा मठ बनाएर पूजा गर्ने प्रचलन बसेको हो।
हरिबोधिनी एकादशीको अवसरमा आज काठमाडौँ उपत्यकाका चार नारायण (चाँगु, शेष, इचँगु र विशङ्खु) तथा बूढानीलकण्ठ नारायणस्थानलगायत देशभरका विष्णु मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने मठले जनाएको छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म साइत नहेराई तुलसीको हवन गरी चारमहिने विशेष पूजा उद्यापन गर्न सकिने धार्मिक विधि रहेको छ।