Dhulikhel Eco Banner new

नास–आईटी एक्स्पो : स्वदेशी प्रविधिको बजार विस्तार र अवसरबारे छलफल हुने

221
shares

काठमाडौं, ४ मंसिर । नेपाली प्रविधि उद्योगको आन्तरिक बजार विस्तार, स्वदेशी उत्पादनको प्रयोग र अमेरिकी बजारमा प्रवेशका सम्भावनाबारे केन्द्रित रहेर ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ मा विशेष प्यानल छलफल हुने भएका छन् ।

नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गरिरहे पनि स्वदेशमै उनीहरूका उत्पादन तथा सेवाको प्रयोग अपेक्षाकृत कम रहेको विषयलाई एक्स्पोले बहसको केन्द्रमा राख्ने भएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले शनिवार र आइतवार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गर्न लागेको एक्स्पोमा ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विदिन’ शीर्षकमा प्यानल छलफल गरिने नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले जानकारी दिए ।

चापागाईंका अनुसार पहिलो छलफलमा नेपाली प्रविधि कम्पनीका लागि अमेरिकी बजारमा उपलब्ध अवसर र त्यहाँ व्यवसाय विस्तार गर्ने सम्भावनाबारे बहस हुनेछ भने दोस्रोमा स्वदेशी प्रविधि उत्पादनको प्रयोग, आन्तरिक बजारको विकास र नेपालमै उपलब्ध व्यावसायिक सम्भावनाबारे छलफल हुनेछ ।

एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा पनि छलफल हुनेछ । यसले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय पहुँच, बजार विस्तार र विदेशी साझेदारीका सम्भावनालाई उजागर गर्ने आयोजकको अपेक्षा छ ।

नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तार, कूटनीतिक सहकार्य र स्वदेशमै प्रविधि उत्पादन तथा सेवाको व्यावसायिक विकासका विषयमा बेलायत, स्विट्जरल्यान्ड र युरोपेली संघका राजदूतदेखि अमेरिकी दूतावासका प्रतिनिधि तथा नेपाली प्रविधि उद्यमी सहभागी हुने छलफलमा नेपालको सूचना प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय सम्भावना र घरेलु बजारको विकासका विषय उठाइनेछन् ।

एक्स्पोको पहिलो प्यानल ‘फ्रम नेपाल टु द वल्र्ड’ मा नेपालका लागि बेलायतका राजदूत रोब फेन, स्विट्जरल्यान्डका राजदूत डा। ड्यानियल म्युली मोन्टेलियोनी र नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटली सहभागी हुनेछन् । नास–आईटीका उपाध्यक्ष विभूषण बिष्टले छलफलको सहजीकरण गर्नेछन् ।

कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा हुने उक्त छलफलमा प्रविधि, व्यापार र कूटनीतिक सम्बन्धबीचको अन्तरसम्बन्ध तथा नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावनाबारे बहस हुनेछ। नेपालले सूचना प्रविधि सेवा निर्यातमार्फत विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका बेला विदेशी मुलुकसँगको सहकार्य, लगानी र बजार पहुँचका विषयलाई छलफलमा प्राथमिकता दिइने बताइएको छ ।

त्यस्तै, अमेरिकी बजारमा नेपाली प्रविधि कम्पनीको प्रवेश र व्यावसायिक विस्तारका अवसरबारे ‘सेलेक्ट यूएसए’ शीर्षकमा अर्को प्यानल छलफल हुनेछ । यसमा अमेरिकी दूतावासकी राजनीतिक तथा आर्थिक प्रमुख केट लेही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र येल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी हुनेछन् ।

अमेरिकी बजारमा प्रविधि सेवा तथा उत्पादनको सम्भावना, व्यावसायिक सञ्जाल विस्तार, लगानी र साझेदारीका अवसरबारे छलफल गरिने आयोजकले जनाएको छ । नेपाली सूचना प्रविधि कम्पनीले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक रणनीति र त्यहाँ उपलब्ध अवसर पहिचान गर्न यो छलफल उपयोगी हुने अपेक्षा गरिएको छ ।

एक्स्पोको अर्को प्यानल ‘स्ट्रङ्गर टुगेदर ः बिल्डिङ नेपाल्स टेक इकोसिस्टम’ मा नेपाली प्रविधि उद्योगको आन्तरिक विकास, स्वदेशी उत्पादनको प्रयोग र प्रविधि उद्यमबीचको सहकार्यका विषयमा बहस हुनेछ । उक्त छलफलमा आकाश टेकका प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, थर्डफ्याक्टर एआई ९प्राइक्सा कम्पनी० का प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति र र्‍यापिड (गोक्यो ल्याब्स) का प्रमुख कार्यकारी अधिकृत आशुतोष साह सहभागी हुनेछन् ।

नेपालमै विकास भएका सफ्टवेयर तथा प्रविधिमा आधारित सेवाको प्रयोग सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रमा बढाउनुपर्ने विषय यो छलफलको मुख्य चासो हुनेछ । नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गरिरहेका भए पनि स्वदेशी बजारमा उनीहरूका उत्पादन तथा सेवाको पहिचान र प्रयोग अपेक्षाकृत कम रहेको आयोजकको भनाइ छ ।

नास–आईटीकी महासचिव श्रेया श्रेष्ठका अनुसार सन् २०२४ मा प्रकाशित एक प्रतिवेदनले नेपालको सूचना प्रविधि सेवा निर्यात करिब ४० करोड अमेरिकी डलर पुगेको देखाएको छ । सन् २०२१ देखि २०२३ सम्म यस क्षेत्रमा ६४ प्रतिशत वृद्धि भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रविधि कम्पनीप्रतिको आकर्षण बढिरहेको भए पनि नेपालभित्रै उपलब्ध प्रविधिको प्रयोग विस्तार हुन नसक्नु चुनौती रहेको श्रेष्ठले बताइन् । सरकारले सन् २०२४ देखि २०३४ सम्मलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउँदै सेवा निर्यात ३० अर्ब रुपैयाँ पुर्‍याउने र पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय बजार विस्तारसँगै घरेलु बजारमा पनि नेपाली प्रविधिको माग सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालमा विकास भएका सफ्टवेयर तथा प्रविधिमा आधारित सेवाहरू विदेशी कम्पनीले प्रयोग गरिरहेका छन् । तर, नेपालभित्रै पनि विभिन्न समस्या समाधान गर्न सक्ने प्रविधि र उत्पादन उपलब्ध छन् भन्ने कुरा पर्याप्त रूपमा स्थापित हुन सकेको छैन,’ श्रेष्ठले भनिन् ।

‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी नेपाली प्रविधि कम्पनी सहभागी हुनेछन् । साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा, कृत्रिम बुद्धिमत्ता, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधिलगायतका क्षेत्रमा कार्यरत कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् ।

यस वर्ष एक्स्पोमा स्टार्टअप प्याभिलियन पनि रहने बताइएको छ । युरोपेली संघको सहयोगमा स्थापना गरिएको उक्त प्याभिलियनमा नयाँ तथा प्रारम्भिक चरणका प्रविधि कम्पनीले आफ्ना उत्पादन, नवीन विचार र प्रविधिमा आधारित समाधान प्रस्तुत गर्नेछन् । पिच सत्रमार्फत सम्भावित लगानीकर्ता तथा व्यावसायिक साझेदारसमक्ष आफ्ना योजना प्रस्तुत गर्ने अवसरसमेत उनीहरूले पाउनेछन् ।

नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले एक्स्पोलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिँदै आगामी १० वर्षसम्म नेपाली प्रविधि उत्पादन तथा सेवाको प्रवद्र्धन गर्ने दीर्घकालीन उद्देश्य राखिएको बताए । उनका अनुसार एक्स्पोले स्वदेशी प्रविधिको प्रयोग बढाउनुका साथै नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन व्यावसायिक सेतुको काम गर्नेछ ।

एक्स्पो विद्यार्थी तथा युवा पेसाकर्मीका लागि पनि उपयोगी हुने आयोजकको भनाइ छ । उनीहरूले प्रविधि कम्पनीका उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै नेपालमै उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसर पहिचान गर्न सक्नेछन् ।

नास आईटी नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो । नेपाली प्रविधि उद्योगको विकास, अन्तर्राष्ट्रिय विस्तार र नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित संस्थाले काम गर्दै आएको छ ।

महासचिव श्रेष्ठका अनुसार नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । तर, उनीहरूले विकास गरेका सफ्टवेयर, प्रविधिमा आधारित सेवा र उत्पादनको पहिचान तथा प्रयोग नेपालभित्रै पर्याप्त रूपमा हुन सकेको छैन । विदेशी बजारमा नेपाली प्रविधिको माग बढिरहेका बेला स्वदेशी बैंक तथा वित्तीय संस्था, सरकारी निकाय र निजी क्षेत्रले पनि नेपालमै उपलब्ध प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।