Dhulikhel Eco Banner new

टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा जीएलओएफ प्रभावित नुवाकोटका परिवारलाई २,००० थान स्टिल अल्मिराज दराज हस्तान्तरण

208
shares

काठमाडौं, ४ मंसिर । टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढी (GLOF) बाट प्रभावित नुवाकोटका परिवारलाई २ हजार थान स्टिल अल्मिराज दराज हस्तान्तरण गरेका छन् ।

‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (SSS) को सहकार्यमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले दराज वितरण गरिएको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा सञ्चालन गरिएको यस पहलले प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित राख्न सहज होस् भन्ने उद्देश्यले दराज हस्तान्तरण गरिएको हो । यो कार्यक्रम तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनाका लागि अघि बढाइएको बृहत् प्रयासको एक हिस्सा रहेको जनाइएको छ ।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनेबिलिटी अफिसर चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी र वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियाको उपस्थिति थियो ।

त्यसैगरी विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी लगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए । प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना, जीवनलाई सामान्य अवस्थामा फर्काउने र सुरक्षित भविष्य निर्माणमा सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको उनले बताए ।

त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित नहुने बताए । वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको उल्लेख गर्दै उनले नुवाकोटमा सञ्चालित पहल कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने प्रतिबद्धताको उदाहरण भएको बताए ।

अझ समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्‍याउन संस्था निरन्तर प्रतिबद्ध रहेको उनको भनाइ थियो ।